२०७८ आश्विन ३१

महोत्तरी— डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ वटा साखु (साल) का कडी बरामद गरेको छ ।

जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधवार साखुका काठ बरामद गरेको हो ।

यतिधेरै मात्रामा काठ बरामद चालू आर्थिक वर्षको पहिलो घटना हो । बरामद काठको नाप परिमाण ५२ क्यूफिट (घनफिट) रहेको टोलीमा संलग्न सहायक वन अधिकृत मनोजकुमार ठाकुरले जानकारी दिए ।

सबैतिर कोभिड–१९ संक्रमण छल्न निषेधाज्ञा जारी गरिएको मौका पारेर तस्करले वनक्षेत्रभित्रै काठ चिरान गरिरहेका सूचनाका आधारमा बुधवार कार्यालयले सुरक्षा टीमसहित गरेको तलासीमा काठ बरामद भएको हो ।

बरामद काठ लक्ष्मीनियाँस्थित सवडिभिजन वन कार्यालयमा राखी थप अनुसन्धान बढाइएको डिभिजन प्रमुख विनोदकुमार सिंहले जानकारी दिए । बरामद चिरान गरिएका काठ वनमै चिरेर घना झ्याङभित्र सेउलाले छोपेर राखेको अवस्थामा फेला परेको हो ।

निषेधाज्ञाले सबैतिर आवागमन बन्द भएका बेला वन क्षेत्रमा तस्कर गतिविधि बढेको सूचना पाएपछि कार्यालयले सघन सुरक्षा गस्ती परिचालित गरिएको जनाएको छ । रासस

प्रतिकात्मक तस्वीर

प्रतिक्रिया

सम्बन्धित खवर